हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले बुधबार बिहान कोशी, मधेस, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। गएको चौबीस घन्टामा देशका विभिन्न भूभागमा हल्का, मध्यमदेखि भारी वर्षा भएको छ।
झापाको बाहुनडाँगीमा गएको चौबीस घन्टामा ८५ मिलिमिटर वर्षा मापन भएको छ। ललितपुरको खुमलटारमा ७३.४, काठमाडौंको बूढानीलकण्ठमा ५६.२ मिलिमिटर, पानीपोखरीमा ४१ मिलिमिटर, कपनमा ४०.६ मिलिमिटर, तनहुँको सखरमा ५३.२ मिलिमिटर, दाङको बेलझुण्डीमा ४१ मिलिमिटर वर्षा मापन भएको छ।
बुधबार दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ ।
मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।










