तामिल चलचित्र जगतका दिग्गज निर्देशक भारतीराजाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा बुधबार चेन्नईमा निधन भएको छ। बलिउड मिडियाका अनुसार उनको निधन उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण भएको हो ।

फिल्ममा पुर्‍याएको विशिष्ट योगदानका लागि उनलाई भारत सरकारले सन् २००४ मा प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो । आफ्नो जीवनकालमा उनले ६ पटक राष्ट्रिय चलचित्र पुरस्कार, ४ पटक साउथ फिल्मफेयर पुरस्कार, ६ पटक तमिलनाडु राज्य चलचित्र पुरस्कार र एक पटक नन्दी पुरस्कार प्राप्त गरेका थिए ।

भारतीराजाले सन् १९७७ मा प्रदर्शन भएको फिल्म ‘१६ वयाथिनिले’ बाट निर्देशनमा डेब्यु गरेका थिए । चार दशकभन्दा लामो व्यावसायिक यात्रामा उनले ४० भन्दा बढी चलचित्रहरूको निर्देशन गरेका छन् । तामिल फिल्म क्षेत्रमा पुर्‍याएको ठुलो योगदानका कारण उनलाई ‘इयक्कुनर इमयम’ (निर्देशनका शिखर) को उपाधि समेत दिइएको थियो।

उनका चर्चित तामिल फिल्ममा ‘किझाके पोगुम रेल’, ‘सगप्पु रोजक्कल’, ‘अलैगल ओइवथिल्लई’, ‘काधल ओवियम’ र ‘मुधल मरियाथाई’ लगायत पर्दछन् । तामिलका अतिरिक्त उनले बलिउड (हिन्दी चलचित्र) मा पनि निर्देशन गरेका थिए, जसमा ‘सोलवा सावन’ (१९७९), ‘रेड रोज’ (१९८०) र ‘सवेरे वाली गाडी’ (१९८६) सामेल छन् । चलचित्र ‘रेड रोज’ मा राजेश खन्ना र पूनम ढिल्लोंले मुख्य भूमिका निर्वाह गरेका थिए । निर्देशकका रूपमा उनको अन्तिम चलचित्र सन् २०२० मा रिलिज भएको ‘मीन्डम ओरु मारियाथाई’ थियो ।

निर्देशनका साथै भारतीराजाले अभिनय पनि सक्रिय थिए । उनले ‘आयुध एझुथु’, ‘पाण्डियनाडु’, ‘ईस्वरन’, ‘थिरुचित्रम्बलम’ र ‘महाराजा’ जस्ता धेरै फिल्महरूमा अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर