नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरु भएको छ । संस्थापन पक्षले पार्टीका नेताहरूलाई दबाब दिइरहेको समयमा भेला सुरु भएको हो ।
यो नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला हो । १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त भेला दुवै समूहको संयुक्त आयोजनामा भइरहेको हो ।
काँग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भूपेन्द्र राईका अनुसार शेरबहादुर देउवाको पुरानो टिम र शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो । यसअघि देउवा समूहले एकल रूपमा आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशीबाट दुवै समूहबीच सहकार्य सुरु भएको हो ।
विराटनगरको मनास्लु होटलमा जारी भेलामा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा.शशांक कोइराला, डा.मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा रहेका छन् ।










