फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
क्यानडाको भ्यानकुभरमा भएको खेलमा अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्यो।
अस्ट्रेलियाका युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले २७ औं मिनेटमा शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। तीव्र प्रतिआक्रमणमा प्राप्त अवसरलाई उनले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो हाफमा पनि त्यसलाई कायम राख्यो। यद्यपि, खेलमा टर्कीले दबाब बनाएपनि गोल गर्न भने सकेन।
त्यसपछि ७५औँ मिनेटमा कोनर मेटकाल्फले डी–बक्सबाहिरबाट शक्तिशाली तथा सटिक प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए।
उनको लो–ड्राइभ शट टर्कीका गोलरक्षकका लागि रोक्न असम्भवजस्तै बन्यो।
यो जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा तीन अंक जोडेको छ। समान तीन अंक रहेको अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले पराजित गरेको थियो।
समूह ‘डी’ को पहिलो चरणपछि अमेरिका र अस्ट्रेलिया दुवै तीन–तीन अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदा टर्की र पाराग्वे अंकविहीन छन्।










