कपिलवस्तुको ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा चिकित्सकको टोली परिचालन गरिएको छ ।

नगरपालिकाभित्रका ग्रामीण बस्तीलाई लक्षित गरी काठमाडौँ, रुपन्देही तथा स्थानीय स्वास्थ्य संस्थाका गरी ५३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटिएको हो ।

कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित बृहत् निःशुल्क बहु–विशेषज्ञ स्वास्थ्य सेवा शिविरमार्फत नागरिकका स्वास्थ्य समस्या पहिचान गरी उपचारको दायरामा ल्याउने अभियान सञ्चालन गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिए ।

शनिबार र आइतबार सञ्चालन भएको दुई दिने शिविरबाट तीन हजार ७८५ नागरिक लाभान्वित भएको नगरपालिकाले जनाएको छ । ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले रोगको समयमै पहिचान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

शिविरमार्फत नगरवासीसँगै आसपासका क्षेत्रका नागरिकले समेत विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गरी उल्लेख्य लाभ लिएको नगरप्रमुख शाहको भनाइ छ । शिविरमा मुटु तथा मिर्गौला रोग, मानसिक स्वास्थ्य, नाक–कान–घाँटी, हाड जोर्नी तथा नसासम्बन्धी समस्या, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको छ ।

स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक प्रयोगशाला जाँच गरिरहेका छन् । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित विशेषज्ञ अस्पतालमा रिफर गर्ने व्यवस्था समेत मिलाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार चेकजाँच गर्दा एक हजार ६०५ लाई मुटुको समस्या, ८३० जनामा हाड जोर्नीको समस्या ४०८ जनामा मिर्गौलाको समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर