नेपालमा यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन प्रणाली अझै नेपाल प्रवेश नगरेको जनाएको छ।

सामान्यतया नेपालमा जुन १३ तारिखतिर मनसुन भित्रिने सरदर भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नभएको विभागले जनाएको छ। विभागले आइतबार जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको हो ।

विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा ‘एल निनो’ विकसित भइसकेको छ र यो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना रहेको बताइएको छ ।

विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्यांक रहेको विभागले जनाएको छ। केही वर्षमा त जुन महिनाको अन्त्यतिर मात्र मनसुन नेपाल प्रवेश गरेको रेकर्ड रहेको छ। यद्यपि, मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गए राति चितवनमा सबैभन्दा धेरै ५२ मिलिमिटर र सुनसरीमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ। यसैबीच, आगामी केही दिन तराईका भूभागमा गर्मी बढ्ने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर