फिल्म ‘क्याप्टेन साब’ र ‘अक्षरा’को छायांकन सकिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘क्याप्टेन साब’को दुई चरणमा गरिएको छायांकन बुधबार सकिएको हो। काभ्रे, काठमाडौं र वीरगञ्जमा छायांकन गरिएको यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्। दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै फिल्ममा यी तीनजनाको यो दोस्रोपटक सहकार्य हो। दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।
यो फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। निर्देशक दीपेन्द्र के. खनालकै लेखन रहेको फिल्ममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन्। फिल्म कृष्णबहादुर थापाले खिचेका हुन्।
त्यस्तै, विनयराज पौडेल निर्देशित ‘अक्षरा’ले पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार छायांकन सकिएको छ। ३७ दिनमा फिल्मको छायांकन पूरा भएको निर्माणपक्षले जनाएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारीलगायत कलाकारहरूको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानालाई पनि देख्न सकिनेछ।
निर्देशक पौडेलले यसै फिल्ममार्फत निर्देशकका रूपमा डेब्यु गर्दैछन्। निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेन आफैंले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ।
दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्ममा मदन न्यौपानेको श्रृंगार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ। यस्तै, मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा र सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्।
‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। ‘क्याप्टेन साब’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।










