हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आई एम जितबहादुर’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
फ्राइडे रिलिजको अवसर पारेर फिल्मले शुक्रबारदेखि प्रदर्शन आरम्भ गरेको हो। यस साता प्रदर्शनमा आएको यो एकमात्र नेपाली फिल्म हो।
‘आई एम जितबहादुर’मा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा र राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।
फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँकै सानो नाट्य मञ्चमा साथीहरूसँग अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिने उसका लागि अभिनय केवल रूचि मात्र नभई जीवनकै सबैभन्दा ठूलो सपना बनेको हुन्छ। त्यही सपना पूरा गर्न उसले गर्ने संघर्ष र जीवनमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।
ड्रामा विधामा निर्माण भएको यस फिल्मको निर्देशन सुभेन्दु घोषले गरेका हुन्। फिल्मको रनटाइम १३३ मिनेट रहेको छ।
फिल्मका निर्माता जितु नेपाल हुन् भने सह–निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन्। कार्यकारी निर्माताका रूपमा निश्चल कुँवर र निरज नेपालले काम गरेका छन्। युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।
यस साता प्रदर्शनमा आएको नेपाली फिल्म ‘आई एम जितबहादुर’ मात्र भए पनि विदेशी फिल्म पनि रिलिज भएका छन्।
विदेशी फिल्मतर्फ ‘ककटेल २’ सहित अन्य केही फिल्महरू पनि नेपाली हलमा रिलिज भएका हुन्।
‘आई एम जितबहादुर’ले सुरूआती शो राम्रो पाएको छ। अब फिल्मको व्यापार भने दर्शकबाट आउने ‘वर्ड अफ माउथ’मा धेरै हदसम्म निर्भर रहनेछ।










