फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ ।
समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे ।
जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २-० ले पराजित गरेको थियो ।
जापानले सुरुमै गोल गरेपछि ट्युनिसियालाई खेलमा दबाबमा राख्न सफल भएको थियो । ६२ प्रतिशत बल पोसेसन राखेको जाापनले ११ सट हान्दा ५ सट अन टार्गेटमा थियो । २ सट हानेको ट्युनिसियाले भने अन टार्गेटमा राख्न सकेन ।
खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । उएदाले को इताकुराको पासमा ३१औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा पनि जापानले दुई गोल थप्यो । इटोले उएदाको पासमा ६९औं मिनेटमा जापानका लागि तेस्रो गोल गरे । उएदाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जापानको लागि चौथो गोल गरे । उनले काइसु सानोको पासमा गोल गरे ।
उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेन विरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए ।
जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो ।










