असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’ले तीन नयाँ पोष्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचार अभियान सुरू गरेको छ। निर्माण टिमले सोमबार फिल्मका पोस्टर सार्वजनिक गरेको हो।

पोस्टर सार्वजनिक भएसँगै अब प्रचारलाई थप तीव्र बनाइने र क्रमशः गीत तथा ट्रेलर सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

सार्वजनिक गरिएका तीनवटै पोस्टरले फिल्मका फरक-फरक भाव र कथाका आयामलाई प्रस्तुत गरेका छन्।

एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्टको भावुक अभिव्यक्ति चित्रित गरिएको छ। अर्को पोस्टरले दशैंको उत्साह झल्काएको छ, जसमा मुख्य चार पात्र पर्वको उमंगमा रमाइरहेका देखिन्छन्। यसले फिल्मको कथामा दशैंको परिवेश पनि महत्वपूर्ण रूपमा समेटिएको संकेत गर्छ।

तेस्रो पोस्टरमा आर्यन सिग्देललाई पनि समावेश गरिएको छ। पोस्टरमा मुख्य चार पात्र अचम्मित भावमा देखिएका छन् भने आर्यन उनीहरूलाई रोक्ने प्रयास गरिरहेको जस्तो दृश्य प्रस्तुत गरिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ मा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ। साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा विशेष भूमिका निर्वाह गरेका छन्।

‘झिंगे दाउ २’ मा सुलभ प्रतिक देउजा, समीक्षा देउजाको लगानी छ। परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्म विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन, मित्र डि गुरूङको सम्पादन छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘झिंगे दाउ २’ तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘झिंगे दाउ’ को सिक्वेल हो। पहिलो फिल्मले बक्स अफिसमा सुखद व्यापार गरेकाले यसको दोस्रो श्रृंखलाले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर