अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माण पक्षले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरेको हो।

यसअघि फिल्मलाई साउन १ गते रिलिज गर्ने तयारी थियो। तर वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति सारेर असोज २ गते तय गरिएको निर्माण टिमले जनाएको छ।

सार्वजनिक गरिएको पोस्टरमा जितु र प्रियनालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेमिल भावले फिल्ममा प्रेमकथाको पनि महत्वपूर्ण स्थान रहेको संकेत गर्छ। यद्यपि फिल्मको मूल कथावस्तु र अन्य विवरण भने टिजर, ट्रेलर तथा प्रदर्शनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

शीर्षककै आधारमा फिल्म ‘कार्की साइँला’ नामका एक भरियाको जीवन र संघर्षको कथामा केन्द्रित रहेको अनुमान गरिएको छ। फिल्मको छायांकन पूर्वी नेपालका धनकुटा, सुनसरीको बराहक्षेत्र तथा चतरा लगायतका रमणीय स्थानमा गरिएको छ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारहरूको अभिनय छ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। कार्यकारी निर्माता अनन्त राई हुन्।

सबिन अधिकारी र शंकर धितालद्वारा लिखित फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापाले निभाएका छन्।

डम्बर राईको छायांकन रहेको फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत तथा सीबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर