भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पको धक्काले मानवीय र भौतिक क्षति व्यापक भएको अनुमान गरिएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी दिएकी छन् । खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यसअघि भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको थियो ।

राजधानी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र जीवित बाँचेकाहरूको खोजी गरिरहेका छन् । कतिपय मानिसहरू भग्नावशेष मुनिबाट सहयोगका लागि पुकार गरिरहेको सुनिएको बीबीसीले जनाएको छ ।

राजधानी कराकासका धेरै भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।

७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पहरू राजधानीको पश्चिम क्षेत्रमा केन्द्रित थिए । यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।

भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३:४९ बजे) आएको थियो । त्यसबेला भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिसहरू घरमै थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय स्रोतसाधन र मानवीय सहायता भेनेजुएलातर्फ पठाइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘जसले आफ्ना प्रियजन गुमाएका छन्, घाइते भएका छन् र उद्धार कार्यमा अथक रूपमा खटिएका साहसी उद्धारकर्मीहरूप्रति हाम्रो समवेदना छ ।’

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार अमेरिकी टोली भेनेजुएली अधिकारीहरूसँग सम्पर्कमा रहेर आवश्यक सहायता परिचालन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर