देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेसँगै जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्को अवस्थामा तत्काल उद्धार टोली परिचालन गर्न देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
एपीएफका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त क्षेत्रमा जनशक्ति र आवश्यक स्रोत–साधनसहितका स्थायी बेस पनि तयारी अवस्थामा राखिएका छन् । विपद्सम्बन्धी सूचना संकलन र उद्धारलाई प्रभावकारी बनाउन एपीएफले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप तथा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । एप वा हटलाइनमार्फत सूचना प्राप्त हुनासाथ नजिकको उद्धार टोली घटनास्थलमा परिचालन गरिने प्रवक्ता कार्कीले जानकारी दिए ।
यसैबीच, प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनमा विगतको तुलनामा जनशक्ति र प्रविधिको प्रयोगमा सुधार भए पनि नेपालको भौगोलिक अवस्थाका कारण चुनौती अझै कायम रहेको बताए । उनले स्थानीय तहलाई थप स्रोत–साधन सम्पन्न बनाउन, राजमार्गका जोखिमयुक्त ‘ब्ल्याक स्पट’ सुधार गर्न तथा पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
नेपाली सेनाले पनि मनसुनजन्य विपद् व्यवस्थापनका लागि तीन चरणको विशेष कार्ययोजना लागू गरेको जनाएको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रो चरणमा स्रोत–साधनसहित पूर्वतैनाथी तथा तेस्रो चरणमा उद्धार, राहत र पुनरावलोकनलाई प्राथमिकता दिइएको छ ।
सेनाले हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने धादिङ, चितवन र बारामा बेली ब्रिज पनि ‘स्ट्यान्डबाइ’ अवस्थामा छन् । साथै, आपत्कालीन स्वास्थ्य सेवाका लागि मेडिकल किटसहितका फिल्ड अस्पतालहरू पनि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
सुरक्षा निकायहरूले सर्वसाधारणलाई मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् सम्बन्धी घटना भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।










