हुम्लाको सिमकोट गाउँपालिका-८ अन्तर्गत पर्ने स्याँडा गाउँमा पहिलो पटक सवारीसाधन पुगेको छ। कर्णाली नदीपारि अवस्थित उक्त बस्तीमा सडक पहुँच विस्तार भएसँगै यातायात सेवा पुगेको हो।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि स्याँडा-याङ्गु सडक निर्माणमा एक करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक निर्माणको काम अघि बढेको र त्यसको परिणामस्वरूप गाउँसम्म गाडी पुग्न सफल भएको जनाइएको छ।
यसअघि सिमकोट गाउँपालिकाका अन्य सातवटै वडामा सडकमार्फत यातायात सेवा विस्तार भइसकेको थियो। स्याँडामा सवारीसाधन पुगेपछि गाउँपालिकाका सबै वडामा सडकमार्फत पहुँच स्थापित भएको छ।
दुर्गम बस्तीमा पहिलो पटक गाडी पुगेको अवसरमा स्थानीयवासीले फूलमाला, बाजागाजा तथा स्वागत कार्यक्रममार्फत खुसी व्यक्त गरेका थिए।
स्थानीयका अनुसार सडक सञ्चालनमा आएपछि खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। साथै, यातायात पहुँच विस्तारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा स्थानीय व्यापार–व्यवसायका क्षेत्रमा समेत नयाँ अवसर सिर्जना हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।










