पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका चार र भारतका दुई क्लब गरी छ समूहको सहभागिता रहेको प्रतियोगिताका लिग चरणका सबै खेल जितेर शीर्ष स्थानमा रहँदै आर्मी क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणका चार खेल जितेको पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

लिग चरणमा पाँचमध्ये दुई खेल मात्र जितेको वान्डर्स क्लब नोइडाले नेटरन रेटमा पर्सा–११ र नेपाल एपिएफ क्लबलाई पछि पार्दै अङ्क तालिकामा चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । योसँगै नोइडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

अङ्क तालिकामा समान चार अङ्क भए पनि एपिएफलाई नेटरनरेटमा पछि पार्दै पर्सा–११ ले सेमिफाइनलको यात्रा तय गर्न सफल भएको छ । प्रतियोगिताको लिग चरणका सबै खेलमा हार भोगेको भारतको उत्तर प्रदेश क्लब ९युपी–११० अङ्कविहीन रहँदै प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको छ ।

नारायणी रङ्गशाला पुनः निर्माणमा तिन वटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ समूहको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर