यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनको व्यवस्था मिलाइएको छ । बिहान ३ बजेदेखि खुलेका पशुपति मन्दिरका चारवटै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् । विशेष पूजा भने बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म चल्ने छ ।

दर्शनार्थीहरु लामबद्ध भएर पशुपतिनाथ मन्दिरको पूजा गरिरहेका छन् । कोषले दर्शनार्थीको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजाका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ । यद्यपि पदाधिकारी नियुक्तिमा भएको ढिलाइ र जनशक्तिको अभावका कारण आवश्यकताअनुसार सबै काम गर्न नसकिएको सदस्यसचिव श्रेष्ठले बताए ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थालाई परिचालन गरिएको छ ।

 

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका अन्य शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । त्यस्तै, देशभरका शिवालयमा पनि भक्तजन पूजा–आराधना र दर्शनका लागि पुगेका छन् ।

साउने सोमबारको व्रत तथा पूजाले पारिवारिक सुख शान्ति मिल्ने र सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर