जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रका साना नदी तथा खोलाहरूमा आज पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको जनाउँदै नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको छ। यस्ता क्षेत्रमा नदी तथा खोलाको बहाव छोटो समयमै बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला आसपासका साना नदी तथा खोलाहरूमा पनि आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ।
विभागका बाढीविद् विनोद पराजुलीले नदी किनार तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार वर्षाका कारण नदीको सतह अचानक बढ्न सक्ने भएकाले नदी वारपार गर्ने, माछा मार्ने, नदीजन्य पदार्थ उत्खनन गर्ने तथा नदी तटीय क्षेत्रमा अनावश्यक आवतजावत गर्ने कार्यबाट टाढा रहनु उपयुक्त हुन्छ।
विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक पूर्वतयारी, निगरानी र उद्धार तथा प्रतिकार्य व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ।










