फिल्म ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा थिम पोस्टर सार्वजनिक गर्दै ‘बम्पर चिठ्ठा’ को औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो।

निर्माणपक्षले यसलाई महत्वाकांक्षी प्रोजेक्ट भनेको छ। ‘बम्पर चिठ्ठा’ को निर्देशन बिक्की महर्जनले गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन्। फिल्मको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन्।

नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ। सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय परिवेशलाई झल्काएको छ।

पोस्टरले कथावस्तुबारे धेरै खुलासा नगरे पनि नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गर्ने संकेत गर्छ। फिल्म नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुने जनाइएको छ।

निर्माण टिमका अनुसार यसलाई विश्वव्यापी रूपमा अमेजन प्राइम भिडिओमार्फत प्रदर्शन गर्ने योजना छ, जसबाट २४० भन्दा बढी देशका दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ। कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने जनाइएको छ।

यसैबीच, यही टिमले निर्माण गरेको फिल्म ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडिओमार्फत विश्वव्यापी रूपमा रिलिज हुने घोषणा गरिएको छ। त्यसको प्रदर्शनपछि ‘बम्पर चिठ्ठा’ को निर्माण कार्यलाई तीव्रता दिइने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर