कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको हो ।

शाखाले आज एक सूचना जारी गर्दै नेपाल र कोरियाबीच भएको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग गरेको हो ।

सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

आवेदन अनलाइनमार्फत आगामी ११ गतेदेखि १७ गतेसम्म (२७ जुलाई, २०२६ देखि २ अगष्ट) सम्म आवेदन दिन सकिनेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई १० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्नेछ ।

पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ । अन्तिम परीक्षामा पास भएका उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण  गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको प्रष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर