भारतीय फिल्म ‘अल्फा’ ठूलो चर्चाका बीच प्रदर्शनमा आएको थियो। यशराज फिल्म्सको स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको यो पहिलो महिला-केन्द्रित जासुसी फिल्म भएकाले यसप्रति दर्शक र व्यापार विश्लेषक दुवैको चासो उच्च थियो।

यद्यपि, आलिया भट्ट र शरवरी अभिनीत यो फिल्म बक्स अफिसमा कमजोर देखिएको छ। रिलिजको तीन सातापछि फिल्मको विश्वव्यापी ग्रस कमाइ करिब ९८ करोड भारतीय भारू पुगेको छ।

यद्यपि, एक सय करोड क्लबमा प्रवेश गर्ने सम्भावना निकै न्यून देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मले पहिलो दिन भारतमा ९ करोड २५ लाख भारू कमाएको थियो भने पहिलो सप्ताहन्तमा ३४ करोड भारूको व्यापार गरेको थियो।

त्यसपछि कमाइ लगातार घट्दै जाँदा भारतमा हालसम्म यसको नेट कमाइ करिब ५८ करोड (करिब ६९ करोड ग्रस) पुगेको छ। विदेशबाट करिब ३० लाख अमेरिकी डलर जोडिएपछि विश्वव्यापी कमाइ ९८ करोड भारू पुगेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘अल्फा’ करिब १०० करोड भारूको बजेटमा बनेको हो। यो फिल्मले लगानी सुरक्षित गर्न १२०/१२५ करोड भारू नेट कमाउनुपर्ने अनुमान गरिएको थियो। तर हालसम्मको व्यापारका आधारमा ‘अल्फा’ले ब्रेक इभेन गर्न नसक्ने निश्चितजस्तै भएकाले यसलाई व्यावसायिक रूपमा निराशाजनक प्रदर्शन गरेको फिल्मका रूपमा हेरिएको छ।

शिव रवैलद्वारा निर्देशित ‘अल्फा’मा आलिया भट्ट, शरवरी, बबी देओल र अनिल कपूरको शीर्ष अभिनय छ। त्यस्तै, ऋतिक रोशन विशेष भूमिकामा छन्। ‘अल्फा’ नेपालमा समेत एकसाथ रिलिज भएको थियो। नेपालमा एकाध सिनेमा हलमा फिल्म अझै प्रदर्शनरत छ।

प्रतिक्रिया

सम्बन्धित खवर