प्रथम पोखरा मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्सतर्फ प्रिन्स र वुमन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् ।
च्याम्पियन दुवै समान ५० हजार नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।
मेन्स सिंगल्सतर्फ नेपाल नम्बर दुई वरीयता प्राप्त एपीएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नम्बर तीन वरीयताका प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।
नेपाल पुलिस क्लबका विष्णु कटुवाल र एपीएफका क्षितिज खनाल तेस्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले समान १० हजार पाए ।
वुमन्स सिंगल्सको फाइनलमा नेपाल एक नम्बर वरीयता प्राप्त त्रिभुवन आर्मी क्लवकी रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन् । आर्मीकै अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी तेस्रो भए । उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सिमाले नगद १० हजार हात पारे ।
ब्वाइज यू–१७ तर्फ एपीएफका अरुण अधिकारीले आर्मीका अभय महरालाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरी विजेता बने । आर्मीका कविर केसी र सोही क्लवका सुविन श्रेष्ठ तेस्रो भए ।
गर्ल्स यू–१७ तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई २१–१५ र २१–१७ ले हराउँदै पहिलो हुँदा सुर्खेतकी दिपिका रोकाया र एमविएफकी निभा राई तेस्रो भएका छन् ।