प्रदर्शन तयारीमा रहेको फिल्म ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ओएसआर डिजिटल युट्युबमार्फत ट्रेलर रिलिज गरेको हो।

ट्रेलर अनुसार फिल्मले छाउपडी प्रथा विरुद्धको कथा भन्ने देखिन्छ। महिनावारी भएका कारण एक बालिकालाई विद्यालय जानबाट रोकिएको तथा पहिलो महिनावारीपछि बुवा र अन्य पुरूषको अनुहार हेर्न नदिइएको कु-संस्कारको कथा ट्रेलरमा देखाइएको छ।

छाउप्रथाजस्ता सामाजिक कुप्रथाले महिला र बालिकाको शिक्षा, सम्मान र दैनिक जीवनमा पार्ने प्रभावलाई फिल्मले उजागर गर्ने प्रयास गरेको ट्रेलरबाट संकेत मिल्छ। यस्ता कुरीतिविरूद्ध आवाज उठाउने सन्देश फिल्मले दिन खाजेको ट्रेलरमा देखिन्छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता पूजा गुरूङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन्। निर्देशक ओम प्रतीकले चेतनाको विकास नै सबभन्दा ठूलो शिक्षा भएको उल्लेख गर्दै सामाजिक सोच बदलिनु आवश्यक रहेको धारणा राखे।

उनले भने, ‘पश्चिम क्षेत्रमा पहिलो महिनावारी हुँदा छाउगोठमा राख्ने चलन रहेछ। त्यही यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरेका हौं। चेतनालाई फराकिलो बनाउन सकियो भने पढाइमा पीएचडी नै गर्नुपर्छ भन्ने हुँदैन।’ पूजा गुरूङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई ओम प्रतिकले निर्देशन गरेका हुन्।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारहरूको अभिनय छ। साथै, स्वयं निर्देशक ओम प्रतीकले पनि अभिनय गरेका छन्।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मले समाज परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको दाबी छ। फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। त्यस्तै, द्वन्द्व निर्देशन कुमार महर्जनको छ। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर