बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिनाको ९ दिनमा ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागलुङ नगरपालिका क्षेत्रमा फैलिएको छ । घनाबस्ती रहेको नगरपालिकाका ४० जनामा डेंगु पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

नौ दिनमै ४३ जनामा डेंगु सङ्क्रमण देखिनु जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिने घिमिरेको भनाइ छ । बागलुङ नगरपालिका–३ गुठीमा डेंगु तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ अभियान समेत सञ्चालन गर्नुपरेको छ ।

घिमिरेका अनुसार गलकोटमा दुई र ढोरपाटन नगरपालिकाका एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ‘‘यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा जाँच गराएका बिरामीहरुको मात्र हो । निजी स्वास्थ्य संस्था र मेडिकलहरुमा पनि डेंगु परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै रहेको अनुमान छ’’ घिमिरेले भने ।

पछिल्लो समय डेंगुका बिरामी धेरै आउन थालेको धौलागिरी प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछानेले बताए । डेंगु भाइरल ज्वरो भएकोले सामान्य बिरामीलाई औषधी दिएर फलोअप गर्न सुझाएको र गाह्रो हुने बिरामीलाई भर्ना गरेरै उपचार गरिरहेको डा. लामिछानेले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर