भारतीय फिल्म ‘बटवारा १९४७’ को ट्रेलर सार्वजनिक भएको छ।
आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सनी देओल मुख्य भूमिकामा छन्। सन् १९४७ को भारत विभाजनको पृष्ठभूमिमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक भएको हो।
फिल्मले विभाजनका क्रममा मानिसहरूले भोगेका पीडा, हिंसा र मानवीयताको कथा भन्ने बताइएको छ। राजकुमार सन्तोषीको निर्देशनमा बनेको फिल्ममा सनी देओल, प्रीति जी. जिन्टा, शबाना अजमी मुख्य भूमिकामा देखिएका छन्।
साथमा अली फजल, करण देओल, अभिमन्यु सिंह, खुशी हजारे, कनिक्का कपुर लगायतको पनि अभिनय छ। फिल्ममा संगीत ए.आर. रहमानले दिएका छन् भने जावेद अख्तरले गीतका शब्दहरू रचना गरेका छन्।
फिल्मले विभाजनको त्रासदी र मानवीय सद्भावको सन्देश बोकेको बताइएको छ। ‘बटवारा १९४७’ आगामी अगस्ट १४ (साउन १९) देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ।










