पूर्ण बहादुरको सारंगी’ फ्रेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ।

पहिलो र दोस्रो चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो। फिल्मको छायांकन गत जेठ १ गते पर्वतको कुस्माबाट सुरू भएको थियो।

पहिलो चरणको १५ दिनको छायांकनपछि मुख्य अभिनेता विजय बराल दाहिने हातको नाडीमा चोट लागेर घाइते भएपछि छायांकन केही समयका लागि स्थगित गरिएको थियो। उनी पूर्ण रूपमा स्वस्थ भएपछि दोस्रो चरणको छायांकन पुनः सुरू गरी मंगलबार सम्पन्न गरिएको निर्देशक पौडेलले बताए।

दुई चरणमा सम्पन्न छायांकनमा कुल ४० दिन लागेको निर्देशक पौडेलले जानकारी दिए। ‘हामीले धैर्य र मेहनतका साथ राम्रो फिल्म बनाउने प्रयास गरेका छौं। यो यात्रामा साथ दिने सम्पूर्ण कलाकार र प्राविधिक टिमप्रति आभारी छु,’ उनले भने, ‘मंसिर ४ गते दर्शकले राम्रो फिल्म हलमा हेर्न पाउनु हुनेछ।’

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल तथा कलाकार विजय बराल र अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका हुन्। यसअघि उनीहरू ‘पूर्णबहादुरको सारंगी’मा सँगै काम गरेका थिए। अभिनेता विजय बरालले हातको चोटका बाबजुद छायांकन पूरा गरेको उल्लेख गर्दै ‘सिन्दुरे जात्रा’ लाई आफ्नो लागि चुनौतीपूर्ण र सन्तोषजनक अनुभव भएको बताए।

‘चोटका कारण छायांकन केही कठिन भयो, तर फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर म निकै उत्साहित छु,’ विजयले भने। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण फिल्ममा विजय र अञ्जनासहित विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारहरूले अभिनय गरेका छन्।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्। कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्माताका रूपमा छन्।

पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। ‘सिन्दुरे जात्रा’ रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ। फिल्म मंसिर ४ गते रिलिज हुने तय छ।

प्रतिक्रिया

सम्बन्धित खवर