वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवा बिहीबारदेखि पुनः सुचारु भएको छ।
साउन ९ गते अस्पतालको आकस्मिक वार्डमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरूमाथि साङ्घातिक आक्रमण भएको थियो।
उक्त घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलन सुरु भएको थियो। आन्दोलनका कारण अस्पतालका सेवाहरू अवरुद्ध बनेका थिए।
अवरुद्ध सेवा सञ्चालन गर्न नेपाल सरकार र नेपाल चिकित्सक संघबिच साउन १३ गते सहमति भएको हो। सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन्।
आन्दोलन फिर्ता भएसँगै साउन १४ गतेदेखि अस्पतालको सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।










