शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिएका हुन्।
उनकाअनुसार हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने बाँकी विश्वविद्यालयहरूमा नियुक्ति प्रक्रिया अगाडि बढेको बताए । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, सदस्यसहित अन्य उच्च पदस्थ पदाधिकारीको नियुक्ति सम्पन्न भइसकेको तथा बाँकी रिक्त पदहरूको पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
मन्त्री पोखरेलले नेपालमा पहिलो पटक सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपविना विज्ञ टोलीमार्फत खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गरिएको दाबी गरे । उनले विश्वविद्यालयमा सुशासन कायम गर्न, शैक्षिक वातावरण सुधार गर्न तथा वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख गर्दै हाल सबै विश्वविद्यालयले वार्षिक क्यालेन्डर तयार गरिसकेको जानकारी दिए ।
उनले अन्य विश्वविद्यालयहरूको ऐनमा रहेको व्यवस्थाका कारण उपकुलपति नियुक्तिमा ढिलाइ भइरहेको बताए। उनले कक्षा १२ को नतिजा प्रकाशनको क्रममा कुनै पनि लापरबाही नभएको समेत दाबी गरेका छन्।










