अमेरिकी अभिनेता भिन्सेन्ट पास्टोरको ८० वर्षको उमेरमा निधन भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उनी न्युयोर्क सहरको ब्रोंक्सस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक घटनाको संकेत नभेटिएको बताइएको छ । पास्टोर एचबीओको चर्चित टेलिभिजन शृङ्खला द सोप्रानोजमा सल्भाटोर ‘बिग पसी’ बोनपेन्सिएरोको भूमिकाका लागि विशेष रूपमा परिचित थिए । उनले मुख्य पात्र टोनी सोप्रानोका घनिष्ठ मित्रको भूमिका निर्वाह गरेका थिए, जो पछि एफबीआईका लागि सूचना दिने व्यक्ति बन्छन् ।

दोस्रो सिजनमा उनको पात्रको मृत्यु उक्त शृङ्खलाको सबैभन्दा चर्चित घटनामध्ये एक मानिन्छ । उनका व्यवस्थापक रोबर्ट एटरम्यानले श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘विश्वले उनलाई सधैँ ‘बिग पसी’का रूपमा सम्झिनेछ, तर हामीका लागि उनी त्योभन्दा धेरै महान् व्यक्ति थिए ।’

सन् १९४६ मा ब्रोंक्समा जन्मिएका पास्टोरले अभिनय क्षेत्रमा आउनुअघि भियतनाम युद्धका क्रममा अमेरिकी नौसेनामा सेवा गरेका थिए । उनले गुडफेलस, कार्लिटोज वेजस्ता चर्चित चलचित्रमा पनि अभिनय गरेका थिए । साथै, ल एन्ड अर्डर, जनरल हस्पिटल र हवाई फाइव लगायत टेलिभिजन कार्यक्रममा पनि उनी देखिएका थिए ।

सन् २००० मा पास्टोर र द सोप्रानोसका कलाकारहरूले संयुक्त रूपमा स्क्रिन एक्टर्स गिल्ड अवार्ड अन्तर्गत उत्कृष्ट ड्रामा शृङ्खला कलाकार समूहको पुरस्कार जितेका थिए । उनको निधनसँगै हलिउडले एक अनुभवी तथा लोकप्रिय कलाकार गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर