काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।
समितिले प्राप्त आवेदनमध्ये ३५ जनाको आवेदन स्वीकृत गरेपछि मूल्यांकनका आधारमा अन्तिम प्रतिस्पर्धाका लागि १० जनाको नाम सार्वजनिक गरेको हो।
सर्टलिस्टमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने परेका छन्।
समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारबारे इच्छुक पक्षले २० साउनभित्र राय तथा सुझाव पेश गर्न सक्नेछन्। त्यसपछि २२ साउनमा उम्मेदवारहरूको १५ मिनेटको प्रस्तुतीकरण तथा त्यसलगत्तै अन्तर्वार्ता सञ्चालन गरिनेछ।
काठमाडौं विश्वविद्यालय विगत तीन महिनादेखि स्थायी उपकुलपतिविहीन अवस्थामा रहेको छ। नेतृत्व अभावका कारण विश्वविद्यालयका केही महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय प्रभावित भएको जनाइएको छ।
सरकारले छनोट प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अगाडि बढाउँदै आगामी एक साताभित्र विश्वविद्यालयले नयाँ उपकुलपति पाउने गरी नियुक्ति प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ।










