राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आवश्यकता, स्थानीय समस्या र समसामयिक विषयबारे ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा अघि बढाएका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसदमार्फत जनतासम्म जानकारी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलका क्रममा सांसदहरूले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था, राजनीतिक परिवेश तथा विकासका सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजना र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराए।
भेटमा गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा देखिएको छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल द्रुतमार्ग, विद्युतीकरण विस्तार, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माणका विषय उठाइएको थियो।
त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका विषय, हुलाकी सडक निर्माण, किसानका लागि धान खरिद–बिक्री व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानको समस्याबारे पनि सांसदहरूले प्रधानमन्त्रीलाई अवगत गराएका थिए।
भेटमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत रास्वपाका सांसदहरूको सहभागिता रहेको थियो।










