आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘लग्यौ परान’ बोलको गीत दर्शकमाझ ल्याएको हो।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियना आचार्यलाई प्रस्तुत गरिएको छ। यी दुईको प्रेमिल र रोमान्टिक केमेस्ट्रि भिडिओमा हेर्न सकिन्छ। श्रेय अगस्ती र बेनिशा पौडेलले गीतमा स्वर दिएका छन्।

गीतमा विष्णु नेपाल नेपालीको शब्द तथा संकेत अगस्तीको संगीत छ। विशाल निरौलाले गीतको एरेन्ज गरेका छन्। निर्माण पक्षले गीत दर्शकमाझ रूचाइने विश्वास व्यक्त गरेको छ। गीतमा मायाप्रेमको कुरा गरिएको छ।

राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ मा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटालगायत कलाकारहरूको अभिनय छ।

फिल्ममा डम्बर राईको कथा, शंकर धिताल र सबिन अधिकारीको पटकथा तथा संवाद छ। बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा अनन्त राई छन्। कर्ण बहादुर फिल्मस् प्रालिद्धारा निर्मित ‘कार्की साइँला’का प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।

डम्बर राईको डिओपी, नारायण गुरूङको छायाँकन रहेको फिल्मका सम्पादक सन्देश शाह हुन्। गीत सार्वजनिकसँगै फिल्मको प्रचार सुरु भएको निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर