सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डअन्तर्गत गौडेपुलनजिकै सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बिच बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् ।

बिहीबार बिहान ११:३० बजेतिर खसेको पहिरो पन्छाउने काम भने अहिलेसम्म सुरु हुन सकेको छैन । गएराति अविरल वर्षा भएपछि बिहान सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए । पहिरो पन्छाउने क्रममा एउटा डोजरको टायर पञ्चर भएकाले अर्को डोजर ल्याएर पहिरो पन्छाउने तयारी भइरहेको उनको भनाइ छ ।

गौडेपुलनजिकै हरेक वर्ष सुक्खा पहिरो खस्ने गरेको छ । तानसेन–८ स्थित डाँडाबाट हरेक वर्ष गेग्रानसहितको सुक्खा पहिरो खस्ने गर्छ । पहिरो रोकथामको प्रयास गरिए पनि सिद्धार्थ राजमार्गभन्दा दुई मिटर माथिबाट पहिरो खस्ने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर