भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म ‘आवारापन २’को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार सार्वजनिक ट्रेलरमा मुख्य पात्र शिवम पण्डितको पीडा, आक्रोश र बदलाको यात्रा झल्काइएको छ।
यो सिक्वेलमार्फत इमरान१९ वर्षपछि आफ्नो चर्चित पात्र शिवमको भूमिकामा पुनः फर्किएका छन्। ट्रेलरमा शिवम अतीतको सम्झना र आलियाह (श्रिया सरन)को वियोगबाट अझै मुक्त हुन नसकेको देखिन्छ।
कथा भने पूर्ण रूपमा खुलाइएको छैन। शबाना आजमी नकारात्मक भूमिकामा देखिएकी छन् छन् दिशा पटानी जारा नामक पात्रका रूपमा प्रस्तुत भएकी छन्। ट्रेलरमा तीव्र एक्सन र भावनात्मक दृश्यहरूको मिश्रण देखिए पनि कथावस्तुबारे धेरै जानकारी दिइएको छैन।
अनत्यमा शिवमको संवाद ‘एक एक गरेर मर्छौ कि सबै सँगै?’ ले उत्सुकता बढाउँछ। पहिलो ‘आवारापन’ जस्तै यसको संगीत पनि फिल्मको मुख्य आकर्षण बनेको छ। मिथुन, जीत गांगुली, अमाल मल्लिक, अंकित सचदेव र वासिफ अहमदले यसमा संगीत दिएका छन्।
मुकेश भट्ट र विशेष फिल्म्स प्रस्तुतिमा बनेको ‘आवारापन २’ नितिन कक्करले निर्देशन गरेका हुन्। निर्माता विशेष भट्ट रहेका छन्। फिल्ममा इमरान हाश्मी, दिशा पटानी र शबाना आजमी मुख्य भूमिकामा छन्। ‘आवारापन २’ १४ अगस्ट २०२६ (साउन २९) देखि विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।










