राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) अर्थात् मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले दिएको जानकारी अनुसार यस वर्षको मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ५७ हजार ८९७ जना परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । यो कुल परीक्षार्थी संख्याको ८१.१९ प्रतिशत हो ।
परीक्षामा सहभागीमध्ये ३ जना परीक्षार्थीको परीक्षाफल भने बोर्डले रद्द गरेको छ । नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक संशोधन गरिने बोर्डले स्पष्ट पारेको छ ।










