कञ्चनपुरमा घरको छतबाट खसेका युवकको मृत्यु भएको छ । शुक्रबार साँझ घरको छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले घरको छतको दोस्रो तलाबाट खसेका नेगीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुईंमा खसेको अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।
उनको राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










