बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ।

आज बिहान ८ बजेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ।

तर, आगामी दिनमा बहाव तीव्र हुने अनुमान महाशाखाले गरेको छ।महाशाखाको बुलेटिन अनुसार आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढ्नेछ। कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ्ने देखिएको हो।

अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ्ने अनुमान छ। भोलि र पर्सी भने देशभरका प्रायः सबै ठुला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

तामाकोशी नदीको बुस्ती जलमापन केन्द्रमा बाहेक कोशी, नारायणी, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बागमती र बबई जलाधार क्षेत्रका सबैजसो स्थानमा पानीको सतह निकै बढ्नेछ। साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीबारे पनि महाशाखाले सचेत गराएको छ।

‘आज सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ,’ महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाले थप स्पष्ट पार्दै ‘यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको’ जनाएको छ।

त्यसैगरी, भोलि कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही साना नदीहरूमा अचानक पानीको सतह बढ्न सक्नेछ। पर्सी कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान छ। नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर