अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री नियुक्त भएपछि पहिलोपटक आज बुधबार गृहजिल्ला तनहुँ जाँदै छन्। दुईदिने भ्रमणका क्रममा उनले जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट र छलफल गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका वाग्ले तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुग्न लागेका उनले जिल्लाको विकास निर्माण, स्थानीय समस्या तथा आर्थिक गतिविधिबारे सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ।
रास्वपा तनहुँका सभापति विश्व बास्तोलाका अनुसार भ्रमणका क्रममा जिल्लाका स्थानीय प्राथमिकता, विकासका आवश्यकता र नागरिकका अपेक्षाबारे अर्थमन्त्री वाग्लेले जानकारी लिनेछन्।
सार्वजनिक कार्यतालिकाअनुसार वाग्ले बुधबार अपराह्न ४ बजे आँबुखैरेनी उद्योग वाणिज्य संघको हलमा आयोजना हुने नागरिक संवाद कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि साँझ ६ बजे बन्दीपुरमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम छ।
बिहीबार बिहान ११ः३० बजे तनहुँ सदरमुकाम दमौलीमा आयोजना हुने जिल्ला समन्वय समितिको कार्यक्रममा उनी सहभागी हुनेछन्। सोही दिन दिउँसो २ः३० बजे दमौलीस्थित अतिथि गृहमा उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुग्न लागेका वाग्लेको भ्रमणलाई जिल्लाको विकास, आर्थिक गतिविधि र स्थानीय आवश्यकताबारे प्रत्यक्ष रूपमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।










