हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहान मधेसबाहेक सबै प्रदेशका विभिन्न भूभागहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा ताप्लेजुङको तापेथोकमा ६.८ मिलमिटर वर्षा मापन भएको छ। रूकुम पश्चिमको कोटझरीमा ११.८ मिलिमिटर पानी परेको छ।
पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। पूर्वी भूभागमा हल्कादेखि मध्यम र पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षा भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा पछिल्लो चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
दिउँसो नै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। शुक्रबार राति पनि देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। राति देशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशको तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।










