भोटेकोशी नदीको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्वास्थ्य सेवा र स्थानीय नागरिकका आवश्यकताबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्थलगत अनुगमन गरेकी छन्।
मन्त्री मेहताले विदुर नगरपालिका-१ आसपासका प्रभावित क्षेत्र तथा आश्रयस्थल पुगेर विपद्का कारण उत्पन्न स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन्। अनुगमनका क्रममा त्रिशूली सेफ हाउस, क्रियापुत्री भवन, त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेका आश्रयस्थलको अवस्थाबारे जानकारी लिइएको थियो।
अनुगमनका क्रममा मन्त्री मेहताले बाढीपीडित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। उनले उपचाररत घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत छलफल गरी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी लिएकी थिइन्।
विपदबाट प्रभावित नागरिकले आवश्यक उपचार र औषधि सहज रूपमा पाउने व्यवस्था मिलाइएको मन्त्री मेहताले बताइन्। उनका अनुसार अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति, आवश्यक स्वास्थ्य जनशक्तिको परिचालन र विपद्पछि देखिन सक्ने सरुवा रोगलगायतका स्वास्थ्य जोखिम नियन्त्रणका लागि सम्बन्धित निकायमार्फत काम भइरहेको छ।
विपद्को प्रत्यक्ष असर भोगिरहेका नागरिकको मानसिक तथा मनोसामाजिक अवस्थालाई पनि स्वास्थ्य सेवाको दायरामा समेटिएको मन्त्रालयले जनाएको छ। मनोपरामर्शदातामार्फत विभिन्न आश्रय स्थलमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक उपचारको व्यवस्था भइरहेको बताइएको छ।
बाढीपछिको स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रभावित क्षेत्रमा आवश्यक स्रोतसाधन, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिरहेको छ। प्रभावित नागरिकलाई समयमै सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायबीचको समन्वयलाई समेत निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।










