डेंगु सङ्क्रमणको केन्द्र बनेको बागलुङ जिल्लामा सङ्क्रमितको संख्या एक हजार नाघेको छ ।
यो संख्या देशभरका जिल्लामध्ये सबैभन्दा धेरै हो । साउन १ गतेदेखि डेढ महिनाको अवधिका डेंगु सङ्क्रमितको संख्या १ हजार ११ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार, अत्याधिक मात्रामा डेंगुका बिरामी बढ्नुको मुख्य कारण निरन्तरको वर्षा र सरसफाईमा गरिएको हेलचक्राई प्रमुख कारण हो ।
डेंगु फैलिँदा विशेष गरी बागलुङ नगरपालिका क्षेत्रका घरघरमा बिरामीहरु भेटिएको जनस्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिईन । जनस्वास्थ्यका अनुसार, बागलुङ नगरपालिकामा मात्रै ६ सय ४४ जना डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै जैमिनीका ५३, गलकोटका ६६, ढोरपाटन नगरपालिकाका २८, काठेखोला गाउँपालिकाका ७८, ताराखोलाका ४, बडिगाडका ८, निसीखोलाका १४, तमानखोलाका ४, बरेङ गाउँपालिकाका ३ र अन्य जिल्लाका ६९ जनामा डेंगु देखिएको छ । धौलागिरी प्रादेशिक अस्पतालमा प्रयोगशाला जाँच गर्दा ८५३ जनामा डेंगु पुष्टी भएको छ । कतिपय स्वास्थ्य चौकी र मेडिकल पसलमा उपचार गराउनेको तथ्याङ्क सङ्कलन भएको छैन ।
‘‘अहिले अस्पताल आउने अधिकांश बिरामी ज्वरो बिरामी छन्’’’ धौलागिरि अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले भने , ‘डेंगी महामारीको रुपमा फैलिएको छ, अब सचेतनामार्फत रोकथाममा लाग्नुपर्छ ।’’ डेंगु सङ्क्रमण अत्याधिक रुपमा फैलिएपछि अस्पतालमा रगत परीक्षणका लागि किटको पर्याप्त व्यवस्थापन गरिएको डा. तिवारीले बताए ।
अस्पतालमा रगत परीक्षण गर्ने जनशक्ति अभाव भएपछि बागलुङ नगरपालिकाले जनशक्ति पठाएर काम गरिएको छ । डा. तिवारीका अनुसार, अस्पतालमा अझै एक हजार किट ल्याएर डेंगु परीक्षणको दायरा बढाउने तयारी छ । ज्वरो आउने, टाउको दुख्ने र शरीर भारी भई काम गर्न नसक्ने र कम्पन आउनेजस्ता लक्षण देखिए तत्काल परीक्षण गर्न डा. तिवारीले आग्रह गरे ।
अप्रत्यासित रुपमा डेंगु सङ्क्रमण बढेपछि जिल्लाभर ‘खोज र नष्ट गर’ अभियानसँगै नागरिकलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । यो अभियानमा बागलुङ नगरपालिका र प्रदेश जनस्वास्थ्य कार्यालयले विशेष अग्रसरता देखाएका छन् । बजार क्षेत्रका स–साना टोलमा पुगेर सरसफाइ गर्न नागरिकलाई प्रेरित गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताए ।
टायर पसल र मोटर ग्यारेज रहेका स्थानमा डेंगु सार्ने लामखुट्टे बढी भेटिने भएकोले सरसफाइमा ध्यान दिन अभियान चलाइएको छ । ‘डेंगुबाट बच्न सरसफाइ र सुरक्षा सर्तकता अहिलेको आवस्यकता हो’ शर्माले भने ।










