रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीपछिको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको सहायता संकलनले नेपालको इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ।
हालसम्म कोषमा स्वैच्छिक सहायता तथा नयाँ प्रतिबद्धताहरू सहित कुल करिब ९ अर्ब ५० करोड (९.५ अर्ब) रकम पुगेको छ। जसले २०७२ सालको विनाशकारी महाभूकम्पका बेला संकलित स्वैच्छिक राहत रकमको रेकर्डलाई समेत निकै पछाडि पारेको छ।
नेपाल सरकारद्वारा सञ्चालित ‘उद्धार अनुरोध पोर्टल’ मा सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्क अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा बैंक खाताहरूमा ७ अर्ब ८९ करोड नगद, ६१ लाख ४० हजार अमेरिकी डलर (USD) तथा हाल प्राप्त प्रतिबद्धताहरूसहित कुल संकलन करिब ९.५ अर्ब पुगेको हो।
यसका अतिरिक्त संघीय सरकारी कर्मचारीहरूको तलब योगदानबाट करिब ३६ करोड संकलन हुँदैछ। त्यस्तै, प्रदेश सरकारहरूबाट पनि थप सहयोग जुट्ने क्रम जारी छ । जसमा कर्णाली प्रदेश सरकारले ५० लाख दिने नयाँ प्रतिबद्धता जनाएको छ भने लुम्बिनी प्रदेशले यसअघि घोषणा गरेको ३ करोड सहयोगका अलावा मुख्यमन्त्री तथा मन्त्रीहरूले आधा महिनाको तलब योगदान गर्ने निर्णय गरेका छन्।
यता बाढी प्रभावित जिल्लाहरूलाई तत्काल राहत स्वरूप रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख नगद निकासा गरिएको छ।










