लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो गएपछि मुख्य राजमार्गका सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा काभ्रेमा सम्भावित बाढीका कारण बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड प्रभावित भएको छ। प्रहरीले बिहान ४ देखि ६ बजेसम्मको अवस्थालाई विचार गरी सवारीसाधन सञ्चालन गर्नेरनगर्ने निर्णय लिन आग्रह गरेको छ।

यसैगरी, उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, नुवाकोटमा टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ।

धादिङमा पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ क्षेत्रमा सडक पूर्ण अवरुद्ध रहेको छ। गजुरी गाउँपालिका–२ चालिसे र परेवाभिर क्षेत्रमा भने एक लेनबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशको रोल्पामा परिवर्तन गाउँपालिका–३ भालखोर क्षेत्रमा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

त्यसैगरी, कर्णाली प्रदेशमा मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक, कालिकोटको शुभकालिका गाउँपालिका तथा खडाचक्र क्षेत्रमा कर्णाली राजमार्ग, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसे क्षेत्रमा कर्णाली राजमार्ग र सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदी क्षेत्रमा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

यसैबिच, काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विसापानी क्षेत्रमा काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर