प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।
उनका अनुसार समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई छलफलका लागि बोलाएको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको थापाले जानकारी दिइन् ।
बैठकबाट मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा विपक्षी दलहरूले साझा धारणा बनाउनेछ । बैठकमा सरकारका पछिल्ला कामकारबाहीका साथै संसद्मा विपक्षी दलहरू कसरी अघि बढ्ने भन्ने विषयमा पनि गहन छलफल हुनेछ।










