फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सम्राट न्यौपानेको स्वर तथा संगीत र रमेश देवकोटाको शब्द रहेको गीतको भिडिओमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन्। उनीहरू भिडिओमा राधाकृष्णको भूमिकामा प्रस्तुत भएका छन्।

निर्माण टिमका अनुसार ‘कालमाण्डू’ एक्सन-थ्रिलर फिल्म हो। यसमा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धको कथालाई समेटिएको जनाइएको छ।

निर्देशक सयनम अधिकारीका अनुसार १९ वर्षीया बहिनी हराएपछि उनको खोजीमा निस्किएको एक दाजु अपराधको संसारमा फस्दै खतरासँग जुध्ने कथा फिल्मले प्रस्तुत गर्छ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा अनिल र रोशनीसँगै गजित बिष्ट, अञ्जन थापा, राजन अधिकारी, सुगत करणजीत, अलिशा बास्तोला, ललना चिमरिया, शिव अधिकारी, राकेश कालागाईं, निशान परियार, विशाल पहारी, निश्चल पौडेललगायत कलाकारहरूको अभिनय छ।

कमल थिङ निर्माता रहेको फिल्मको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन्। काठमाडौं, ललितपुर, भक्तपुर र पर्साको ठोरीमा छायांकन गरिएको फिल्मलाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ। फिल्ममा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।

प्रतिक्रिया

सम्बन्धित खवर