कुशेऔँशी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।
दिवङ्गत बाबुको सम्झनामा श्रद्धा व्यक्त गर्न तथा तर्पण, पिण्डदान र सिदादान गर्न भक्तजन गोकर्णेश्वर पुगेका हुन्। हिन्दू धर्मावलम्बीले यस दिन वर्षभरि धार्मिक कार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने परम्परा रहेकाले यस पर्वलाई कुशेऔँशी भनिन्छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ।
कुशेऔँशीका अवसरमा गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताको सम्झनामा तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको भीड लागेको छ। धार्मिक विश्वासअनुसार भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने मान्यता छ।
गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थस्थलमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने कुरा धर्मशास्त्रमा उल्लेख छ।
बौद्ध धर्मावलम्बीले समेत गोकर्णेश्वरमा पुगेर दिवङ्गत बाबुको सम्झनामा श्राद्ध तथा पूजाआजा गर्ने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताए। उनका अनुसार बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजा गर्ने र त्यसपछि भोज खाने चलन छ।
भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई ‘गोकर्णे औँसी’ समेत भनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेवको दर्शन तथा पितृको नाममा धार्मिक कर्म गर्न देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्।
कुशेऔँशीमा जीवित बाबुलाई श्रद्धापूर्वक मिठाई तथा मनपर्ने परिकार खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने परम्परा पनि छ। बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णेश्वरलगायत विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गरी पितृप्रति श्रद्धा अर्पण गर्ने गर्छन्।










