फिल्म ‘आबाट आमा २’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। फुटेका सिसा र पुराना तस्बिरमार्फत भत्किँदै गएको परिवार तथा छिन्नभिन्न सम्झनालाई संकेत गरिएको छ।
पोस्टरमा आमा-बुबाको भूमिकामा रहेका प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेको दृश्यसँगै उडिरहेको जहाज देखाइएको छ। यसले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाको कथा संकेत गर्छ। त्यस्तै, पल शाह र साइग्रेस पोखरेलका तस्बिरले परिवारसँग बिताएका विगतका खुसीका क्षणलाई सम्झाएको छ।
पोस्टरको अर्को दृश्यमा पल शाह र साइग्रेसलाई निधारमा टीका र जमरा लगाएर बसेको अवस्थामा आमाले अँगालो हालेर रोइरहेको देखिन्छ। दशैंको माहोलमा परिवारसँगै रमाइरहेका दृश्यसँगै आमाको पर्खाइ र पीडालाई पनि पोस्टरले केन्द्रमा राखेको छ। पोस्टरमा राखिएको स्लोगनले फिल्मको मूल भावलाई अझ प्रस्ट पार्छ- ‘चर्किएको यो घरले फेरि सोध्यो… यो दसैंमा पनि तिम्रो सन्तान आएन है आमा?’ चाडपर्वमा रित्तिँदै गएका नेपाली गाउँघर, परदेशिएका सन्तान र उनीहरूको पर्खाइमा जीवन बिताइरहेका आमाहरूको कथालाई फिल्मले प्रस्तुत गर्ने संकेत पोस्टरले गरेको छ।
फिल्ममा पल शाह, मलिका महत, रिस्ता गुरूङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्देशन तथा कथा-पटकथा चन्द्र पन्तको हो।
सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाइली हुन्। अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण भएको फिल्म असोज ३० गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउनेछ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ। यसको डिजिटल अधिकार ओएसआरसँग रहेको छ।










