नेपाली काँग्रेसले आगामी अधिवेशनका लागि विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्क निर्धारण गरेको छ। काँग्रेसले जारी गरेको निर्वाचन निर्देशिकामा वडादेखि केन्द्रीय तहसम्मका पदमा उम्मेदवार बन्न लाग्ने शुल्क तथा आवश्यक प्रस्तावक र समर्थकको संख्यासमेत तोकिएको छ।

निर्देशिकाअनुसार काँग्रेसको केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यी दुवै पदमा उम्मेदवारी दिन सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ।

केन्द्रीय सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ भने पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यका उम्मेदवारलाई तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्नेछ।

काँग्रेसले प्रदेश तहका पदमा समेत उम्मेदवारी शुल्क निर्धारण गरेको छ। प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ।

उक्त निर्वाचन निर्देशिका काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट स्वीकृत भइसकेको छ। निर्देशिकाले पार्टीको विभिन्न तहको नेतृत्वमा उम्मेदवारी दिने उम्मेदवारको शुल्क र प्रस्तावक-समर्थकसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर