राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रवक्तासेमत रहेका सांसद खरेलले कोषको नाम ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न उपयुक्त हुने धारणा राखे।
बाढी, पहिरो, डुबान, कटान तथा आगलागीजस्ता घटनालाई ‘दैवी प्रकोप’ भन्न नमिल्ने उनको तर्क छ । भोटेकोसीमा आएको बाढीलगायतका विपद्का घटना प्राकृतिक विपद् वा मानव सिर्जित कारणबाट हुने गरेको उनले बताए।
“यी घटनाहरू कि मानव सिर्जित हुन्, कि प्राकृतिक विपद् हुन्,” खरेलले भने।
उनका अनुसार २०७४ सालमा जारी भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र २०७६ सालको नियमावलीले पनि विपद् व्यवस्थापनसम्बन्धी नयाँ कानुनी व्यवस्था स्पष्ट गरेको छ।
खरेलले २०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गर्दै नयाँ कानुनी व्यवस्था लागू भइसकेकाले सरकारी कोषको नाममा समेत ‘दैवी प्रकोप’ शब्द प्रयोग गरिरहनु उपयुक्त नभएको बताए।










