बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको दिन ब्याजदर सूची बैंकहरूले सार्वजनिक गर्दै आइरहेका छन् । असोज महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर घटेको छ ।
बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।
पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । असोज महिनामा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।
जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर घटाउनका लागि दबाब पुग्छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा भदौको तुलनामा असोजमा ०.०४६ प्रतिशत बिन्दुले घटेको छ । यसअघि भदौमा पनि साउनको तुलनामा ०.०३१५ प्रतिशत बिन्दु घटेको थियो ।
भदौमा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औसत दर ४.१३६० प्रतिशत रहेकोमा असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ । साउनमा यो दर ४.१६७५ रहेको थियो ।
भदौको तुलनामा असोजमा ४ वाणिज्य बैंकले ब्याजदर केही घटाएका छन् भने १६ ले स्थिर राखेका छन् । असोजमा ब्याजदर घटाएका बैंकमा नबिल, एभरेस्ट, स्टान्डर्ड र कुमारी छन्। अरु १६ बैंकले स्थिर राखेका छन् ।
केही बैंकले ब्याजदर सामान्य घटाउँदा औसत दर घटेको हो । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ । असोजमा व्यक्तिगत मुद्दतीमा प्रभुको ब्याजदर अरुको भन्दा केही बढी देखिन्छ ।
तर बैंकले दिने ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको लागि मात्रै हो । तसर्थ लामो अवधिका लागि केही बढी र छोटो अवधिका लागि कम ब्याजदर बैंकले दिने गरेका छन् ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।










