विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गरिरहेको बताएका छन् ।
बुधवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । उनले कृत्रिम बुद्धिमत्ता (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिइन्।
विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी र पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
साथै उनले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको बताए । विपद् उद्धार तथा व्यवस्थापनमा ड्रोन र रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उहाँले जानकारी दिइन् । उनका अनुसार हाल चीन र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन् ।
यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाउने उनले बताए । मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने गरी तयारी भइरहेको पनि जानकारी दिए ।
उनले भने, ‘खासगरी वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत-सम्भार, पुन:स्थापना र आवश्यक सहयोग गर्ने काम भइरहेको छ । हामी कुनै दैवी विपत्ति भयो भने केही समय त्यसलाई सम्झिन्छौँ, तर एक वर्षपछि बिर्सिहाल्छौँ । त्यसकारण यस्तो अवस्था नहोस् भनेर सबै मापन केन्द्रहरूलाई ठीकठाक, तन्दुरुस्त र दुरुस्त अवस्थामा राख्ने काम भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणालीको विकास गर्ने तथा एउटा ‘सिचुएसन रुम’ बनाएर त्यसबाट निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम पनि भइरहेको छ । त्यस्तै, अहिले ड्रोन र रोबोटिक्सको उपयोगिता धेरै देखिएको छ । त्यसैले विज्ञान तथा प्रविधि मन्त्रालयले सकेसम्म नेपालमै ड्रोन उत्पादन गर्ने उद्देश्यका साथ काम अघि बढाइरहेको छ । अहिले चीन र यूएईबाट ड्रोनहरू आएका छन्, जसले ८० देखि १०० किलोसम्मको तौल बोक्न सक्छन् । त्यस्ता ड्रोनहरू खरिद गर्दा निकै महँगो पर्छ । अहिले सहयोग स्वरूप प्राप्त भएकाले तिनको प्रयोग भइरहेको छ । भविष्यमा भने यस्ता ड्रोन नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने सम्भावनासहित काम भइरहेको छ । त्यसैगरी, हिमताल विस्फोटन, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गर्ने र त्यसलाई व्यावहारिक प्रयोगका लागि तयारी अवस्थामा ल्याउने काम पनि भइरहेको छ । छोटकरीमा भन्नुपर्दा, हामीले जानेको र सकेको जति काम गरिरहेका छौँ ।’
मन्त्रालयले वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुन:स्थापनालाई प्राथमिकता राखेको उनले बताए । मन्त्री पुनले हाल मन्त्रालयले रसुवा बाढी पीडितका लागी विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम गरिरहेको पनि जानकारी दिए ।
उनकाअनुसार राहत सामग्री बोकेका विमान दैनिक दुई–तीन ट्रिपसम्म नेपाल आइरहेका छन् ।
मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलबबाट योगदान गरिरहेको पनि उनले बताए । श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको उनको भनाइ छ ।
उनले भने, ‘अहिले भइरहेको कामको कुरा गर्दा, मुख्यतः विदेशबाट विदेशी सरकारहरूले उपलब्ध गराएका राहत सामग्रीहरू जहाजमार्फत आइरहेका छन् । जहाजमा गएर विदेशबाट विदेशी सरकारहरूले दिएको राहतका सामग्रीहरू छ, त्यो बुझ्ने काम गरिरहेको छु, दिनदिनै गइरहेको छु । दिनदिनै आइरहेको पनि छ । दिनमा २–३ ट्रिप पनि आउँछ ।’
उनले रसुवा बाढीका क्रममा मृत्यु भएकाको पहिचानका लागि राष्ट्रिय आविष्कार केन्द्र (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुना परीक्षण भइरहेको छ । नेपाली तथा चिनियाँ टोली संयुक्त रूपमा काम गरिरहेको उहाँले बताउनु भयो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृत शरीरका १ हजार ५६२ वटा डीएनए परीक्षण नमुना प्राप्त भएको उनले जानकारी दिए। त्यस्तै, बुटवलमा पनि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए। परीक्षणमा भारतीय विज्ञसहित चिनियाँ प्राविधिक टोलीसमेत संलग्न रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिले भइरहेको अर्को महत्वपूर्ण काम डीएनए परीक्षण हो । यो परीक्षण दुई ठाउँमा भइरहेको छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा । नास्टमा दैनिकजसो ४०-५० वटा नमुनाको परीक्षण भइरहेको छ । यसमा चिनियाँ र नेपाली टोली मिलेर काम गरिरहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भने अहिलेसम्म मृतकहरूको १ हजार ५ सय ६२ वटा डीएनए परीक्षणका नमुना आएका छन् । त्यस्तै, बुटवलमा हराएका व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन गरी परीक्षण गर्ने काम पनि भइरहेको छ । बुटवलमा अहिलेसम्म ९८ जनाको डीएनए नमुना संकलन तथा परीक्षणको प्रक्रिया अघि बढेको छ । यसका लागि भारतबाट नौ जना विज्ञ आएका छन् भने चीनबाट १५ जना विज्ञ तथा प्राविधिक टोली आएको छ । नेपाली टोलीसँग मिलेर नास्ट र नजिकै रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा उनीहरूले काम गरिरहेका छन् ।’
नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको मन्त्री पुनले जानकारी दिए ।










